काठमाडौं । नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचान झल्काउने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले नेपाली इतिहास, मौलिक संस्कृति, सामाजिक मूल्य र राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई सहयोग गर्ने उद्देश्यले अनुदान कार्यक्रम अघि बढाएको हो।
सरकारले उपलब्ध गराउने अनुदानबाट यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत चलचित्रको पटकथा लेखन, निर्माण तथा निर्माणपछिका काम (पोस्ट प्रोडक्सन) का लागि सहयोग उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।
अनुदान वितरणलाई व्यवस्थित बनाउन मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ तयार गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले यसअघि चलचित्र क्षेत्रका निर्माता, निर्देशक, कलाकार तथा विज्ञसँग कार्यविधिको मस्यौदाबारे छलफलसमेत गरेको थियो।
छलफलमा अनुदान वितरण पारदर्शी र निष्पक्ष बनाउनुपर्ने, नयाँ तथा उदीयमान चलचित्रकर्मीलाई अवसर दिनुपर्ने र सरकारी लगानीबाट निर्माण हुने चलचित्रको गुणस्तर सुनिश्चित गर्नुपर्ने सुझाव आएका थिए। पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण, राष्ट्रिय एकता तथा सामाजिक सद्भावका विषय समेटिएका चलचित्रलाई प्राथमिकता दिनुपर्ने धारणा पनि प्रस्तुत गरिएको थियो।
सरकारी अनुदानको प्रभावकारिता सुनिश्चित गर्न छनोटका स्पष्ट मापदण्ड, खर्चको जवाफदेहिता तथा निर्माण सम्पन्न भएका चलचित्रको मूल्याङ्कन महत्त्वपूर्ण हुने देखिन्छ।

वि.सं.२०८३ कात्तिक १० मंगलवार १५:२९ मा प्रकाशित














