काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने तथा उच्च शिक्षामा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित र शैक्षिक सहकार्यका सम्भावनाबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हित र उनीहरूसँग सम्बन्धित विषयले समेत प्राथमिकता पाएको थियो। उच्च शिक्षाको क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्न सके नेपाली विद्यार्थीका लागि थप अवसर सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ।
नेपाल र साइप्रसबीच शैक्षिक सम्बन्धलाई थप प्रभावकारी बनाउन आपसी समन्वय, अनुभव आदानप्रदान तथा विद्यार्थीको हित संरक्षण महत्त्वपूर्ण हुने देखिन्छ।
भेटवार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धसँगै शिक्षा क्षेत्रमा सहकार्यका सम्भावनालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ कात्तिक १० मंगलवार १५:३५ मा प्रकाशित

















