काठमाडौं । नेपाल संवत् ११४७, कछलाथ्व चतुर्दशी अर्थात् बैकुण्ठ चतुर्दशीका अवसरमा काठमाडौं उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरूमा विशेष पूजा तथा धार्मिक गतिविधि भइरहेका छन्। यसै अवसरमा उत्तराखण्डस्थित पवित्र गङ्गोत्री धामका पीठाधीश्वर श्री शिवप्रकाश रावलजी महाराजको काठमाडौं उपत्यकामा आगमन भएको छ।
बैकुण्ठ चतुर्दशीका दिन पशुपतिनाथ मन्दिरमा परम्परागत वैतर्णी दान, तिल अर्पण तथा गङ्गोत्री धामबाट ल्याइएको पवित्र गङ्गाजल भगवान् पशुपतिनाथको शिवलिङ्गमा अर्पण गर्ने धार्मिक परम्पराले निरन्तरता पाएको छ। बडाकाजी अमरसिंह थापाको पालादेखि सुरु भएको मानिने यस परम्परालाई बीचमा केही समय रोकिएपछि गङ्गोत्री धामका रावल तथा पीठाधीश्वर श्री शिवप्रकाश रावलजी महाराजको पहलमा पुनः निरन्तरता दिइएको हो। यस वर्ष यो परम्परा २६औँ वर्षमा प्रवेश गरेको छ।
यसै क्रममा गङ्गोत्री धामका पीठाधीश्वर महाराज काठमाडौं उपत्यकामा बागमती, मनोहरा र रुद्रधाराको संगमस्थलका रूपमा परिचित त्रिवेणी शक्तिपीठ सङ्गम (दोभान) मा पनि आइपुग्नुभएको थियो। उहाँलाई कालाग्नि रुद्रपीठका पीठाधीश्वर महाराजले धार्मिक सम्मानसहित भव्य स्वागत गर्नुभएको थियो।
त्रिवेणी शक्तिपीठ शङ्खमूल दोभानमा आइपुग्दा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै गङ्गोत्री धामका पीठाधीश्वर श्री शिवप्रकाश रावलजी महाराजले कालाग्नि रुद्रपीठका पीठाधीश्वर महाराजको पहलमा निर्माण भएको मण्डप, छठीमाईको दिव्य मूर्ति, शिव पञ्चायनसहित ॐकारेश्वर महादेवको स्थापना, नियमित रुद्राभिषेक तथा बेलुका हुने गङ्गा आरतीको प्रशंसा गर्नुभएको छ। यस्ता धार्मिक गतिविधिले तीर्थस्थलको महिमा बढाउनुका साथै बागमती नदीको सरसफाइ र संरक्षणमा समेत सकारात्मक योगदान पुर्याएको उल्लेख गर्दै उहाँले यस कार्यप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। साथै, आगामी दिनमा पनि यस्तै धार्मिक तथा सामाजिक सत्कर्मलाई निरन्तरता दिन कालाग्नि रुद्रपीठका पीठाधीश्वर महाराजलाई आशीर्वाद प्रदान गर्नुभएको छ।

हिन्दु धर्मपरम्परामा नदी तथा त्रिवेणी सङ्गमको विशेष धार्मिक महत्त्व रहँदै आएको छ। गङ्गोत्री धामबाट आउनुभएका पीठाधीश्वरको त्रिवेणी शक्तिपीठ सङ्गममा भएको आगमनले हिमालयको गङ्गा परम्परा र काठमाडौं उपत्यकाका प्राचीन धार्मिक सम्पदाबीचको आध्यात्मिक सम्बन्धलाई थप उजागर गरेको छ।
पशुपतिनाथमा गङ्गाजल अर्पण र त्रिवेणी सङ्गममा भएको धार्मिक भेटघाटपछि गङ्गोत्री धामका पीठाधीश्वरको धार्मिक यात्रा भक्तपुरस्थित डोलेश्वर महादेव हुँदै काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–११ मा रहेको विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामतर्फ अघि बढ्ने कार्यक्रम रहेको छ। लड्केश्वर धाममा पनि गङ्गोत्री धामबाट ल्याइएको पवित्र गङ्गाजल अर्पण गर्ने परम्परा हरेक वर्ष निरन्तर रहँदै आएको छ।
बैकुण्ठ चतुर्दशीको अवसरमा पशुपतिनाथको वैतर्णी दान, गङ्गाजल अभिषेक र त्रिवेणी सङ्गममा भएको धार्मिक भेटघाटले नेपाल र भारतका प्राचीन तीर्थस्थलबीचको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई पुनः स्मरण गराएको छ। यस्ता परम्पराको निरन्तरताले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सनातन धार्मिक संस्कार र तीर्थस्थलहरूको महत्त्वलाई जीवन्त राख्न योगदान पुर्याउँदै आएको छ।
वि.सं.२०८३ मंसिर ८ मंगलवार १०:१५ मा प्रकाशित

















