back
Close [x]

हजारौँ भक्तजनको आस्था जोडिएको लड्केश्वर धाम, तर मेलाकै दिन जोखिमपूर्ण यात्रा!

धार्मिक उत्सवको रौनकबीच भक्तजनको सुरक्षामा प्रश्न, पुल र सडक निर्माण अब प्राथमिकतामा पर्नुपर्छ।

वि.सं.२०८३ मंसिर ५ शनिवार

318 

shares

सम्कापादकीय। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा हिजो, मंसिर ४ गते हरिबोधिनी एकादशीको अवसरमा लागेको मेला भक्तजनको उल्लेखनीय उपस्थितिले भक्तिमय बन्यो। बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका हजारौँ श्रद्धालु भगवान् शिवको दर्शन, पूजाआराधना तथा धार्मिक अनुष्ठानमा सहभागी भए। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र युवराज पारस शाहको आगमनले समेत मेलाको आकर्षण र चर्चा थप बढायो।

तर यति ठूलो धार्मिक मेला लागिरहेको समयमा भक्तजनले भोग्नुपरेको सबैभन्दा ठूलो समस्या धामसम्म पुग्ने पहुँचमार्गको अवस्था रह्यो। स्थायी पुलको अभाव हुँदा खोलाबाटै सवारीसाधन वारपार गर्नुपर्ने अवस्था देखियो। सवारीसाधनसँगै पैदल यात्रु, ज्येष्ठ नागरिक, बालबालिका तथा टाढाबाट आएका भक्तजनसमेत असहज र जोखिमपूर्ण यात्रा गर्न बाध्य भए।

हजारौँ भक्तजनको उपस्थिति हुने धार्मिक मेलामा यस्तो अवस्था रहनु सामान्य विषय होइन। धार्मिक स्थलमा भक्तजनको आस्था र श्रद्धा जति महत्त्वपूर्ण हुन्छ, उनीहरूको सुरक्षा पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। मेलाको व्यवस्थापनमा दर्शन, पूजा र धार्मिक कार्यक्रमसँगै सुरक्षित आवागमनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता यसपटकको दृश्यले स्पष्ट पारेको छ।

लड्केश्वर धामको धार्मिक पहिचान विस्तारमा पीठाधीश्वर श्री मुकुन्द शर्मा हुमागाईंले २०७८ सालदेखि निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँकै नेतृत्वमा धार्मिक जागरण, प्रचारप्रसार, १०८ फिट अग्लो भव्य शिव त्रिशूल, १०८ शिवधारालगायतका धार्मिक संरचना निर्माण तथा विकासका अभियान अघि बढेका छन्। २०८० सालमा एक महिनासम्म राष्ट्रिय कोटिहोम महायज्ञ सम्पन्न भयो भने २०८१ सालमा राष्ट्रिय धर्मसभा नेपाललगायत विभिन्न धार्मिक संस्था र विद्वान् गुरुजनहरूको अगुवाइमा राष्ट्रिय पण्डित सम्मेलन आयोजना गरी उहाँलाई कालाग्नि रुद्रपीठको पीठाधीश्वरका रूपमा स्थापित गरिएको थियो।

यी प्रयासले लड्केश्वर धामको धार्मिक पहिचान, महिमा र महत्त्वलाई राष्ट्रियस्तरमा पुर्‍याउन योगदान दिएका छन्। अब यससँगै धाममा आउने भक्तजनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ।

धाम क्षेत्रमा धार्मिक संरचनासँगै भक्तजनको बसाइ, विश्राम, भोजन तथा अन्य आवश्यक सेवासुविधाको विकासलाई पनि व्यवस्थित रूपमा अघि बढाउनुपर्ने देखिन्छ। धार्मिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित तीर्थस्थलका रूपमा विकास गर्न सडक, पुल, पार्किङ, शौचालय, सरसफाइ, भोजनालय तथा अन्य आवश्यक सेवासुविधा सबै पक्षमा ध्यान दिनुपर्छ।

यस विषयमा पनौती नगरपालिका, बागमती प्रदेश सरकार तथा सम्बन्धित पूर्वाधार निकायले तत्काल चासो दिन आवश्यक छ। अस्थायी व्यवस्थाले मात्र सधैँ समस्या समाधान हुँदैन। त्यसैले खोलामा सुरक्षित आवागमनको व्यवस्था गर्दै स्थायी पुल र व्यवस्थित सडक निर्माणका लागि बजेट तथा योजना सुनिश्चित गर्नुपर्छ।

अन्ततः प्रश्न एउटै छ—हजारौँ भक्तजनको आस्था जोडिएको, राष्ट्रिय कोटिहोम र धार्मिक सम्मेलनको इतिहास बोकेको लड्केश्वर धामसम्म पुग्ने सुरक्षित पुल कहिले निर्माण हुन्छ?

धार्मिक मेलाको रौनक वर्षैपिच्छे बढोस्, भक्तजनको संख्या बढोस् र धामको महिमा देशदेशसम्म फैलियोस्। तर त्यससँगै भक्तजनको यात्रा पनि सुरक्षित हुनुपर्छ। अब लड्केश्वर धामको विकास धार्मिक प्रचारप्रसारमा मात्र सीमित नराखी सडक, पुल र आवश्यक पूर्वाधार निर्माणमार्फत व्यवहारमै देखिनुपर्छ।

 

वि.सं.२०८३ मंसिर ५ शनिवार ०७:०० मा प्रकाशित

कुर्सी बदलियो, अब देश बदलिएको अनुभूति कहिले?

कुर्सी बदलियो, अब देश बदलिएको अनुभूति कहिले?

सम्पादकीय । नेपालमा परिवर्तनको चर्चा नयाँ होइन। हरेक राजनीतिक मोडमा...

छठ सकियो, बागमतीको संरक्षण वर्षभरि गरौँ

छठ सकियो, बागमतीको संरक्षण वर्षभरि गरौँ

सम्पादकीय |  सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको...

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

सम्पादकीय । नेपालकाे मौलिक संस्कृति, कृषि सभ्यता र प्रकृतिप्रतिको सम्मानलाई झल्काउने...

तिहारको उज्यालोमा महँगीको छाया : उपभोक्तालाई राहत कहिले?

तिहारको उज्यालोमा महँगीको छाया : उपभोक्तालाई राहत कहिले?

सम्पादकीय तिहार नजिकिँदै गर्दा नेपाली बजारमा किनमेलको चहलपहल बढेको छ।...

मनोरञ्जनका नाममा धर्म र संस्कृतिको उपहास कहिलेसम्म?

मनोरञ्जनका नाममा धर्म र संस्कृतिको उपहास कहिलेसम्म?

सम्कपादकीय । कला र मनोरञ्जन समाजको ऐना हुन्। कलाकारले समाजका...

यज्ञ बढ्दै छ, विधि हराउँदै त छैन?

यज्ञ बढ्दै छ, विधि हराउँदै त छैन?

सम्पादकीय | नेपाल धार्मिक, सांस्कृतिक र आध्यात्मिक परम्पराले समृद्ध देश...