काभ्रे । हरिबोधिनी एकादशीको पावन अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कालाग्नि रुद्रपीठ लड्केश्वर महादेव धाममा भक्तजनको घुइँचो लागेको छ। शुक्रबार बिहानैदेखि सुरु भएको मेलामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरदेखि पूर्वयुवराज पारस वीर विक्रम शाहसम्मको आगमनले धामको धार्मिक रौनक थप बढाएको छ।
हरिबोधिनी एकादशीका अवसरमा मुख्यमन्त्री किरण थापा मगरले लड्केश्वर महादेवको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। त्यसैगरी पूर्वयुवराज पारस वीर विक्रम शाहले पनि मन्दिरमा पुगेर भगवान् लड्केश्वर महादेवको दर्शन तथा अभिषेक गर्नुभएको छ। उहाँको आगमनका क्रममा स्थानीय भक्तजन तथा सर्वसाधारणले स्वागत गरेका थिए।
मेलालाई थप आकर्षक बनाउन स्थानीय भक्तजनहरूले पनौती–११, ख्याकुस्थित लक्ष्मी नारायण पाञ्चायन मन्दिरबाट बाजागाजासहित रथयात्रा निकालेका थिए। बल्थली हुँदै लड्केश्वर महादेव मन्दिरसम्म पुगेको रथयात्रामा स्थानीय महिला, पुरुष तथा विभिन्न उमेर समूहका भक्तजनहरूको सहभागिता रहेको थियो।
करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिने लड्केश्वर मेला काभ्रेपलाञ्चोक जिल्लाको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले यस क्षेत्रमा दर्शन तथा पूजाआराधना गरेपछि मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ। पुस्तौँदेखि चल्दै आएको यस मेलामा काभ्रेसहित आसपासका विभिन्न जिल्लाबाट श्रद्धालुहरू आउने गरेका छन्।
गुफाभित्र अवस्थित लड्केश्वर महादेव मन्दिर परिसरमा स्थापित १०८ फिट अग्लो भव्य शिव त्रिशूल र १०८ शिवधाराले धामको धार्मिक विशिष्टतालाई थप उचाइ दिएको छ। प्राकृतिक सुन्दरता, धार्मिक आस्था र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने सम्भावनासमेत रहेको छ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि जागरण हुने दिनका रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ। यस दिन तुलसी विवाह, व्रत, पूजाआराधना, भजनकीर्तन तथा तीर्थदर्शन गर्ने सनातन परम्परा रहिआएको छ।
यसै धार्मिक मान्यतासँग जोडिएको लड्केश्वर मेला यस वर्ष विशिष्ट व्यक्तित्वहरूको आगमन, बाजागाजासहितको रथयात्रा र भक्तजनको उत्साहपूर्ण सहभागिताले थप विशेष बनेको छ। स्थानीय धार्मिक परम्परा, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणसँगै लड्केश्वर धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको गन्तव्यका रूपमा चिनाउन मेलाले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १६:०५ मा प्रकाशित

















