काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कालाग्निरुद्रपीठ लड्केश्वर महादेव धाममा हरिबोधिनी एकादशीका अवसरमा भोलि शुक्रबार (मंसिर ४ गते) भव्य धार्मिक मेला आयोजना हुँदैछ। मेलाको अवसरमा पनौती नगरपालिकाले नगरपालिकाभरि एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाको आधिकारिक सूचनाअनुसार धार्मिक तथा ऐतिहासिक महत्त्वको मेलालाई मध्यनजर गर्दै मंसिर ४ गते नगरपालिका क्षेत्रभर स्थानीय बिदा दिइएको हो।
यस वर्षको मेलामा बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यता रहने तथा राजपरिवारका सदस्यहरूको समेत आगमन हुने जनाइएको छ। देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।
विश्वकै एकमात्र कालाग्निरुद्रपीठका रूपमा परिचित लड्केश्वर धाममा स्थापित १०८ फिट अग्लो भव्य शिवत्रिशूल र १०८ शिवधाराले यसको धार्मिक तथा आध्यात्मिक महिमा थप विशिष्ट बनाएको छ।
पीठको स्थापना, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले सम्पूर्ण भक्तजन, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा १०८ कर्ता परिवारलाई मेलामा सहभागी हुन सादर निमन्त्रणा गर्नुभएको छ। उहाँले ॐकार टेलिभिजन तथा ॐकार फाउण्डेशनका संस्थापकका रूपमा धार्मिक आस्था, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन सबैको सहभागिता र रचनात्मक सुझावको अपेक्षा गर्नुभएको छ।
हरिबोधिनी एकादशी भगवान् विष्णुको चातुर्मास शयन समाप्त भई जागरण हुने पवित्र दिन हो। यस दिन तुलसी विवाह, व्रत, पूजा–आराधना, भजनकीर्तन तथा तीर्थदर्शन गर्ने सनातन परम्परा रहिआएको छ।
लड्केश्वर धाममा हरेक वर्ष आयोजना हुने यस मेलाले धार्मिक पर्यटन, स्थानीय पहिचान तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस वर्षको विशेष सहभागिताले मेलाको गरिमा थप उचाइमा पुग्ने आयोजकको विश्वास छ।
धार्मिक आस्था, सांस्कृतिक एकता र राष्ट्रिय सद्भावको सन्देश बोकेको यस पवित्र मेलामा सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।
वि.सं.२०८३ मंसिर ३ बिहीवार १५:२४ मा प्रकाशित

















