काठमाडौं । प्रत्येक वर्ष सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् २०१७ मा सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रूपमा घोषणा गरेको थियो। यो दिवस पहिलोपटक सन् २०१८ मा मनाइएको हो।
सन् २०२६ को अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको मुख्य विषय ‘Declaring Deaf People’s Human Rights’ अर्थात् ‘बहिरा व्यक्तिहरूको मानव अधिकारको घोषणा’ रहेको छ। यस वर्षको विषयले बहिरा व्यक्तिहरूका अधिकारलाई व्यवहारमा सुनिश्चित गर्न तथा राष्ट्रिय सांकेतिक भाषामार्फत सूचना, शिक्षा र सार्वजनिक सेवामा पहुँच विस्तार गर्न आह्वान गरेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार सांकेतिक भाषा बहिरा समुदायका लागि केवल सञ्चारको माध्यम मात्र नभई भाषिक पहिचान, सांस्कृतिक विविधता र मानव अधिकारसँग जोडिएको महत्वपूर्ण पक्ष हो। प्रारम्भिक उमेरदेखि सांकेतिक भाषामा पहुँच र गुणस्तरीय शिक्षा बहिरा व्यक्तिको विकास तथा समावेशी समाज निर्माणका लागि महत्वपूर्ण मानिएको छ।
सेप्टेम्बर २३ को दिन छनोट हुनुको सम्बन्ध विश्व बहिरा महासंघ (WFD) सन् १९५१ को सेप्टेम्बर २३ मा स्थापना भएको इतिहाससँग जोडिएको छ। सन् २०२६ मा WFD ले आफ्नो ७५औँ स्थापना वर्ष पनि मनाइरहेको छ।स वर्ष सेप्टेम्बर २१ देखि २७ सम्म अन्तर्राष्ट्रिय बहिरा सप्ताह पनि यही विषयमा केन्द्रित भएर मनाइँदैछ। दिवसले सांकेतिक भाषाको संरक्षण, बहिरा समुदायको पहिचान र समाजका सबै क्षेत्रमा समान तथा प्रभावकारी सहभागिताका लागि जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्दछ।
वि.सं.२०८३ असोज ७ बुधवार ०८:११ मा प्रकाशित

















