काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा श्रीमतीको शव टुक्र्याएको स्वीकार गरेका छन्।
अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० मा ममतालाई शयनकक्षमा मृत अवस्थामा भेटेपछि सुरुमा जीवनरक्षक प्रयास गरेको र पछि शव टुक्र्याउने निर्णय लिएको बताएका हुन्।
उनले शव व्यवस्थापन गर्ने क्रममा सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको तर शारीरिक कठिनाइका कारण पहिलो दिन काम रोकिएको बयान दिएका छन्।
भट्टमाथि प्रथम श्रेणीको हत्या, शव क्षतविक्षत पारेको र शव लुकाएको अभियोग छ। उनले शव टुक्र्याएको स्वीकार गरे पनि हत्या गरेको आरोप भने अस्वीकार गर्दै आएका छन्।
सन् २०२४ अगस्टमा पक्राउ परेका भट्ट हाल हिरासतमै छन्। यस प्रकरणमा ममताको शव अझै फेला परेको छैन भने अदालतबाट अन्तिम फैसला आउन बाँकी छ।
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १७:५२ मा प्रकाशित

















