काठमाडौं । भोटेगण्डकी–त्रिशूली क्षेत्रमा भएका विपद् तथा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्दैछ।
सङ्घीय संसद् सचिवालयका अनुसार समितिको चौथो बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्न लागेको हो।
बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल हुने कार्यसूची रहेको छ।
यसअघि बसेको समितिको तेस्रो बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी विषयमा छलफल गरिएको थियो।
भोटेगण्डकी र त्रिशूली क्षेत्रमा पछिल्लो समय बाढी, पहिरोलगायत विपद्का घटनाबाट भएको क्षति, विपद्को जोखिम न्यूनीकरणका लागि अपनाइएका उपाय तथा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका विषयमा समितिले अध्ययन गरिरहेको छ।
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायुजन्य विपद्का कारण तथा त्यसबाट परेको असर, जोखिम न्यूनीकरण, राहत, उद्धार, पुनःस्थापना तथा आगामी दिनमा अपनाउनुपर्ने उपायबारे अध्ययन गरी सरकारलाई आवश्यक सुझाव तथा सिफारिस गर्नेछ।
समिति १५ सदस्यीय रहेको छ। यसको सभापतिमा गणेश पराजुली छन्।
आजको बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिबाट विपद् र जलवायु परिवर्तनसँग जोडिएका विषयमा जानकारी लिने तथा समितिको आगामी कामका सम्बन्धमा छलफल हुने बताइएको छ।
वि.सं.२०८३ असोज २० मंगलवार ०८:४० मा प्रकाशित

















