काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटमा नेपालमा बाढीबाट भएको क्षतिको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक सुरक्षाका लागि ठूलो मात्रामा स्रोत परिचालन गर्ने विषयमा छलफल भएको छ।
विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले रसुवाको भोटेगण्डकी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोगको विषय उठाएका थिए।
अर्थमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको हो।
भेटमा अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका लागि विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले नेपाल सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधार क्षेत्रमा लगानी विस्तार र देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालका विकास प्राथमिकतामा लगानी बढाउने विषयमा पनि छलफल भएको छ। अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरेर नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका छन्।
विश्व बैंकका नेपाल राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंक समूहका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो।
बाढीपछिको पुनर्निर्माणसँगै नेपालले आर्थिक तथा संस्थागत सुधारलाई अघि बढाइरहेका बेला भएको वाग्ले–बाङ्गा भेटवार्तालाई विकासका प्राथमिक क्षेत्रमा अन्तर्राष्ट्रिय स्रोत र लगानी परिचालनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
वि.सं.२०८३ असोज २० मंगलवार ०८:४८ मा प्रकाशित

















