भुटान। हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हिमताल विस्फोटको जोखिम बढिरहेका बेला भुटानमा हिमताल फुटेर आकस्मिक बाढी आएको छ। भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमतालमा बिहीबार राति पानीको प्राकृतिक अवरोध फुटेपछि बाढी आएको हो।
बाढीका कारण गासा छाछु क्षेत्रको पूर्वाधारमा क्षति पुगेको छ। लाया गाउँ जाने सडकको केही भाग बगाएको छ भने दुईवटा बेलीब्रिजसमेत बाढीले बगाएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई पहिले नै सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
बाढीको पानी मो छु नदी हुँदै सान्कोश नदीतर्फ बगिरहेको छ। यसले भारतको पश्चिम बंगाल र आसामका नदी तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढाएको छ।
भारतीय अधिकारीहरूले सान्कोश नदी आसपासका बस्तीमा उच्च सतर्कता जारी गरेका छन्। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। उद्धार तथा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ।
भारतको राष्ट्रिय विपद् व्यवस्थापन निकाय तथा सम्बन्धित प्रशासनले नदीको जलस्तर निगरानी गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार पश्चिम बंगाल र आसामका केही जिल्लामा हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
हिमताल विस्फोटबाट हुने बाढीलाई ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF) भनिन्छ। हिमनदी पग्लिएर बनेको तालमा जम्मा भएको पानी प्राकृतिक बाँध फुट्दा एक्कासि बाहिर निस्कन्छ। यस्तो बाढीले नदी किनारका बस्ती, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याउन सक्छ।
भुटानमा भएको पछिल्लो घटनाको पानीको बहाव र समग्र क्षतिको विवरण अझै मूल्यांकन भइरहेको छ।
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार ११:०७ मा प्रकाशित

















