ओरेगन।अमेरिकाको ओरेगन राज्यमा दुई हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको छ । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब २ः१५ बजे म्याकमिनभिल म्युनिसिपल विमानस्थल नजिकै दुर्घटना भएको हो। ठोक्किएपछि दुवै हेलिकोप्टर नजिकैको निजी कृषि फार्मको खेतमा खसेका थिए।
यमहिल काउन्टीका अधिकारीका अनुसार दुर्घटनामा टेक्सासकी २२ वर्षीया उडान प्रशिक्षक म्याडी आस्बो, ओरेगनका ३८ वर्षीय पाइलट टायलर स्टुर्डेभेन्ट र बेलायतका एक प्रशिक्षार्थी पाइलटको मृत्यु भएको छ। प्रशिक्षार्थीको नाम भने परिवारलाई जानकारी गराउन बाँकी रहेकाले सार्वजनिक गरिएको छैन।
संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार दुर्घटनामा रोबिन्सन आर–२२ र एयरबस एच–१२५ हेलिकोप्टर संलग्न थिए। दुर्घटनाको कारण खुलेको छैन।
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) र एफएएले घटनाबारे अनुसन्धान गरिरहेका छन्। दुर्घटनाका कारण आसपासका सडकसमेत बन्द गरिएको थियो।
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १०:५३ मा प्रकाशित

















