काठमाडौँ, ७ असोज। काठमाडौँ महानगरपालिका–३२ स्थित पवित्र शंखमूल त्रिवेणी धाममा सञ्चालित चतुर्मास अनुष्ठानका क्रममा राष्ट्रसेवकहरूलाई समर्पित ‘अमृतभोग’ प्रसाद सेवा शुभारम्भ गरिएको छ।
बुधबार कालाग्निरुद्र पीठका पीठाधीश तथा ॐकार परिवार नेपाल र ॐकार फाउन्डेसनका संस्थापक श्री मुकुन्द शर्मा हुमागाईँज्यूले ‘अमृतभोग’ प्रसाद सेवाको शुभारम्भ गर्नुभएको हो।
साधना, पूजा र सेवाको भावलाई एकै सूत्रमा जोड्दै अघि बढिरहेको त्रिवेणी धाममा हाल निर्माण कार्यसँगै नियमित पूजन, दैनिक रुद्राभिषेक तथा आध्यात्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्। पीठाधीश हुमागाईँ सोही स्थलमा साधनारत रहनुभएको छ।
हरेक दिन दिउँसो ३ बजेदेखि चतुर्मास अनुष्ठानअन्तर्गत कथा वाचन तथा साँझ भव्य गङ्गा आरती हुँदै आएको छ। यही पवित्र साधना र सेवाको वातावरणबाट राष्ट्रसेवकहरूका लागि ‘अमृतभोग’ प्रसाद सेवाको सुभारम्भ गरिएको हो।
राष्ट्रसेवामा समर्पित व्यक्तिहरूमा आध्यात्मिक चेतना, सकारात्मक ऊर्जा र सेवाभाव जागृत गराउने उद्देश्यले सुरु गरिएको यो प्रसाद सेवा आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरिने आयोजकले जनाउनु भएको छ।
‘साधनाबाट चेतना, प्रसादबाट प्रसन्नता र सेवाबाट राष्ट्रप्रति समर्पण’यही भावनासहित शंखमूल त्रिवेणी धाममा ‘अमृतभोग’ सेवाको नयाँ अध्याय सुभारम्भ भएको छ।
वि.सं.२०८३ असोज ७ बुधवार २१:५० मा प्रकाशित











