काठमाडौं । असोज ७ गते मौसम विज्ञान विभागका अनुसार असाेज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएकाे छ । बिहिबार नदी तथा गंगा तटीय क्षेत्रमा सञ्चालन भइरहेका साधना तथा धार्मिक गतिविधिलाई ध्यानमा राख्दै कालाग्निरुद्रपीठ लड्केश्वर धाम परिवारले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
देश–विदेशमा रहेका शुभेच्छुकहरूले टेलिफोन तथा सन्देशमार्फत व्यक्त गरेको चासोप्रति आभार व्यक्त गर्दै धाम परिवारले लड्केश्वर–त्रिवेणी शक्तिपीठ तथा दोभानका साधनास्थलमा सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राखेर आवश्यक सुरक्षा तथा सावधानीका व्यवस्था मिलाइएको जनाएको छ।
धाम परिवारले नजिकै रहेका भक्त तथा शुभेच्छुकहरूलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेको छ। साथै, वर्षा तथा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त स्थानमा नजान, अनावश्यक यात्रा नगर्न र जुनसुकै कार्य गर्दा पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
अपिलमा धार्मिक मान्यताअनुसार उल्लेख गरिएको ‘बृहस्पति अतिचारी दशा’ को समयलाई समेत स्मरण गर्दै प्राकृतिक जोखिमका समयमा संयम र सावधानी अपनाउन आग्रह गरिएको छ। यस्तो धार्मिक मान्यतालाई वैज्ञानिक मौसम पूर्वानुमानको विकल्पका रूपमा नभई धार्मिक सन्दर्भका रूपमा बुझ्नुपर्ने हुन्छ।
धाम परिवारले संकटको समयमा सुरक्षित रहन रुद्रस्वरूप भगवान् शिवको आराधना गर्दै ‘ॐ नमः शिवाय’ जप गर्न समेत आह्वान गरेको छ।
अपिलमा भनिएको छ, भगवान् श्रीपशुपतिनाथ तथा लड्केश्वर महादेवले सम्पूर्णको रक्षा गरून्।
कालाग्निरुद्रपीठ लड्केश्वर धाम परिवारले सबैलाई सुरक्षित रहन, सतर्क रहन र जोखिमपूर्ण स्थानबाट टाढा रहन अनुरोध गरेको छ।
वि.सं.२०८३ असोज ८ बिहीवार ११:२९ मा प्रकाशित

















