back
Close [x]

यूएनमा प्रधानमन्त्री शाहको सम्बोधनले विश्वमञ्चमा नेपालको कूटनीतिक प्रभाव बढायो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ असोज १४ बुधवार

18 

shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप उचाइ दिएको बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री शाहको सम्बोधनप्रति अन्तर्राष्ट्रिय स्तरमा चासो र सकारात्मक प्रतिक्रिया देखिएको बताउनुभएको हो।

मन्त्री खनालका अनुसार राजनीतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व कसरी गर्नुहुन्छ भन्ने विषयमा नेपालसँगै अन्तर्राष्ट्रिय समुदायको समेत चासो थियो। प्रधानमन्त्रीको सम्बोधनपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यसले उल्लेख्य स्थान पाएको उहाँले बताउनुभयो।

उहाँले प्रधानमन्त्रीको सम्बोधनले नेपालका राष्ट्रिय सरोकारका विषयलाई विश्व समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न सहयोग पुगेको बताउनुभयो। विशेषगरी जलवायु परिवर्तन, जलवायु न्याय, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा जलवायुजन्य विपद्का कारण नेपालले भोगिरहेको क्षतिका विषयमा नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा राखिएको उहाँको भनाइ छ।

मन्त्री खनालले महासभाका क्रममा भएका विभिन्न छलफल तथा भेटवार्तामा पनि नेपालले उठाएका जलवायु वित्त र जलवायु न्यायका विषयले महत्त्व पाएको उल्लेख गर्नुभयो।

नेपाल पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्नु तथा आकस्मिक बाढीपहिरोजस्ता विपद्को जोखिम बढ्नुका कारण प्रभावित भइरहेको भन्दै यस्ता विषयलाई नेपालको राष्ट्रिय सुरक्षा र विकाससँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको उहाँले बताउनुभयो।

प्रधानमन्त्री शाहले महासभामा गरेको सम्बोधनमा नेपालले अत्यन्त न्यून मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असमान प्रभाव भोगिरहेको विषय उठाउनुभएको थियो। साथै नेपाल, भारत र चीनको सहकार्यमा हिमालय क्षेत्रको जलवायु उत्थानशीलता बढाउने संयन्त्र निर्माणको प्रस्तावसमेत अघि सारिएको थियो।

परराष्ट्रमन्त्री खनालले यसपटकको महासभा नेपालको कूटनीतिक सक्रियता र राष्ट्रिय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्ने दृष्टिले महत्वपूर्ण अवसर बनेको बताउनुभयो। उहाँका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विषयलाई तथ्य, प्रमाण र वैज्ञानिक आधारसहित प्रस्तुत गर्ने प्रयासलाई निरन्तरता दिन आवश्यक छ।

प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएको थियो। महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा सञ्चालन भएको थियो।

  • मन्त्री खनालले महासभाका क्रममा भएका अन्तर्राष्ट्रिय भेटघाट तथा छलफलबाट नेपालका प्राथमिकताका विषयमा थप संवाद र सहकार्यका लागि आधार बनेको समेत बताउनुभयो।

वि.सं.२०८३ असोज १४ बुधवार १२:१५ मा प्रकाशित

प्रतिनिधिसभाबाट तीन महत्वपूर्ण आर्थिक विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाबाट तीन महत्वपूर्ण आर्थिक विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं, असोज १५। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित...

धार्मिक संवेदनशीलताको विषयमा सरकारको सम्बोधन, सांसद खुश्बु ओलीले दिइन् धन्यवाद

धार्मिक संवेदनशीलताको विषयमा सरकारको सम्बोधन, सांसद खुश्बु ओलीले दिइन् धन्यवाद

काठमाडौं । राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजन (एनटीभी) बाट प्रसारित एउटा...

यूएन महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले के भने ? भोटेकोशी बाढीदेखि जलवायु न्यायसम्म नेपालको आवाज

यूएन महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले के भने ? भोटेकोशी बाढीदेखि जलवायु न्यायसम्म नेपालको आवाज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय...