काठमाडौं । नेपाल प्रहरीले नागरिकलाई अपराधको जोखिमबाट जोगिन तथा सम्भावित आपराधिक घटना न्यूनीकरण गर्न विभिन्न सुरक्षा तथा सावधानीका उपाय अपनाउन आग्रह गरेको छ।
नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको सुरक्षा सुझावमा व्यक्तिगत सुरक्षा, चोरी–डकैती तथा लुटपाट, धम्की तथा अपहरण र पाकेटमारीबाट जोगिन अपनाउनुपर्ने सावधानीहरू समेटिएका छन्। प्रहरीले नागरिकलाई आफू वरपर भइरहेका गतिविधिप्रति सधैं सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह
प्रहरीका अनुसार सम्भावित जोखिमप्रति सधैं सचेत रहनुपर्छ। अपरिचित व्यक्तिसँग आफ्नो तथा परिवारको व्यक्तिगत विवरण अनावश्यक रूपमा साझा नगर्न, अपरिचित व्यक्तिसँग व्यवहार गर्दा सावधानी अपनाउन र रातको समयमा सम्भव भएसम्म एक्लै हिँड्नबाट जोगिन आग्रह गरिएको छ।
राति यात्रा गर्नुपरे उज्यालो तथा मुख्य सडक प्रयोग गर्न, आफू कहाँ जाँदैछु, कुन बाटो प्रयोग गर्दैछु र कहिले फर्किने हो भन्ने जानकारी परिवार वा विश्वासिलो व्यक्तिलाई गराउन प्रहरीले सुझाव दिएको छ। नजिकको प्रहरी कार्यालयको सम्पर्क नम्बर सुरक्षित राख्न तथा आवश्यक पर्दा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ।
चोरी, डकैती र लुटपाटबाट बच्न के गर्ने ?
घर तथा आवासीय क्षेत्रमा सम्भव भएसम्म CCTV र आकस्मिक अलार्मजस्ता सुरक्षा उपकरण प्रयोग गर्न, घरको कम्पाउन्ड पर्याप्त उज्यालो राख्न र भाडामा बस्ने व्यक्तिहरूको फोटोसहितको अद्यावधिक विवरण राख्न प्रहरीले सुझाव दिएको छ।
टोल–छिमेकमा देखिने अपरिचित तथा शंकास्पद व्यक्तिको गतिविधिप्रति सचेत रहन र अपराध नियन्त्रणका लागि छिमेकीबीच समन्वय तथा सहकार्य गर्न पनि प्रहरीले आग्रह गरेको छ।
घरबाट बाहिर निस्कँदा झ्याल–ढोका राम्रोसँग बन्द गर्न, प्रयोगमा नरहेका कोठा तथा बाटोसमेत सुरक्षित रूपमा बन्द राख्न र अपरिचित व्यक्तिलाई पहिचान नखुलेसम्म घर वा आवासीय परिसरमा प्रवेश नदिन सुझाव दिइएको छ।
धम्की तथा अपहरणको जोखिमबाट जोगिन
प्रहरीले शंकास्पद वा ठगीपूर्ण फोन आएमा नआत्तिई सम्भव भएसम्म फोन नम्बर, आवाज तथा अन्य विवरण सुरक्षित राख्न सुझाव दिएको छ।
बालबालिकाको सुरक्षाका लागि उनीहरू प्रयोग गर्ने विद्यालय जाने–आउने बाटो, साथी तथा साथीका अभिभावकको सम्पर्क विवरणबारे अभिभावकले जानकारी राख्नुपर्ने प्रहरीको सुझाव छ। रातको समयमा अपरिचित व्यक्तिको पहिचान नखुलेसम्म ढोका नखोल्न र आपतकालीन अवस्थामा प्रहरी वा छिमेकीको सहयोग लिन पनि आग्रह गरिएको छ।
पाकेटमारीबाट जोगिन विशेष सावधानी
मेला, हाटबजार, चाडपर्व तथा भीडभाड हुने स्थानमा नगद, पर्स र झोलाको विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ।
ठूलो रकम बोकेर हिँड्नुपरे एक्लै यात्रा नगर्न र सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग नगर्न सुझाव दिइएको छ। आफूले धेरै रकम बोकेको कुरा अरूलाई थाहा नहुने गरी सामान्य रूपमा हिँड्न तथा भीडमा वरपरका गतिविधिप्रति सचेत रहन पनि प्रहरीले भनेको छ।
आपतकालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्न सकिन्छ
नेपाल प्रहरीका अनुसार आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोल १०० र ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न सकिन्छ।
प्रहरीले अपराधीलाई अपराध गर्ने अवसर नदिन नागरिकस्तरबाट समेत सावधानी अपनाउन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
सचेत बनौँ, सुरक्षित रहौँ।
स्रोतः नेपाल प्रहरी
वि.सं.२०८३ असोज १९ सोमवार ११:४४ मा प्रकाशित











