काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने व्यवस्था गरिएको छ।
निर्वाचनबाट सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूह र क्लस्टरबाट केन्द्रीय सदस्य चयन हुनेछन्।
केन्द्रीय कार्यसमितिमा १ सभापति, १ वरिष्ठ उपसभापति, ४ उपसभापति र ३ महामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यस्तै, सहमहामन्त्रीतर्फ ११ जना निर्वाचित हुनेछन् भने थप ४ जना मनोनीत हुने व्यवस्था गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुला र समावेशी समूह गरी विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। खुलातर्फ ४५ जना र महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत सातै प्रदेशबाट एक महिलासहित ४ जनाका दरले २८ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। काठमाडौं उपत्यकाबाट एक महिलासहित २ जना रहने व्यवस्था छ।
समावेशी समूहअन्तर्गत दलितबाट १४ जना, आदिवासी जनजातिबाट २० जना, खस आर्यबाट १८ जना र मधेसीबाट १३ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
त्यस्तै, थारूबाट ६ जना, नेपाली जनसम्पर्क समितिबाट ७ जना, पिछडिएको वर्गबाट ३ जना, श्रमिकबाट ३ जना र पेशागत विज्ञबाट ७ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। अपाङ्गता भएका व्यक्तिबाट १ जना र प्रजातन्त्र सेनानीबाट ३ जना केन्द्रीय सदस्य रहनेछन्।
निर्वाचनबाट चयन हुने सदस्यबाहेक विधानअनुसार ६६ जना केन्द्रीय सदस्य मनोनीत हुने व्यवस्था पनि छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट चयन हुने व्यवस्था गरिएको छ।
यसरी विभिन्न पद, समूह र समावेशी क्लस्टरलाई समेटेर कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति गठन हुनेछ। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम उम्मेदवार सूची प्रकाशनपछि मतदान प्रक्रिया अघि बढ्नेछ।
वि.सं.२०८३ असोज २० मंगलवार ०८:१० मा प्रकाशित

















