काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको बडादसैंसँग सम्बन्धित साइत तथा शुभ मुहूर्त सार्वजनिक गरेको छ।
समितिका अनुसार यस वर्षको बडादसैं असोज २५ गते आइतबारदेखि सुरु हुनेछ। सो दिन बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको साइत रहेको छ। समितिले घटस्थापनाका लागि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्न शास्त्रसम्मत देखिने जनाएको छ।
असोज २६ गते सोमबार खण्डा फेर्ने (पश्चिम मोहडा) साइत बिहान १० बजेर ७ मिनेटमा रहेको छ।
त्यसैगरी असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुने उल्लेख छ। असोज ३१ गते शनिबार फूलपाती तथा श्री तुलजाभवानी यात्रा र स्थिरासनको कार्यक्रम रहनेछ। फूलपाती तथा तुलजाभवानी यात्राको साइत बिहान ९ बजेर ३० मिनेटमा र स्थिरासनको साइत बिहान १० बजेर ३८ मिनेटमा रहेको छ।
कात्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ भने कात्तिक ३ गते मंगलबार महानवमी परेको छ।
यस वर्षको मुख्य दिन कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ। समितिका अनुसार सो दिन बिहान ६ बजेर ४७ मिनेटमा देवी विसर्जन, बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने साइत, १० बजेर ५१ मिनेटमा श्री तुलजाभवानी यात्रा र बिहान ११ बजेर ५२ मिनेटमा स्थिरासनको साइत रहेको छ। सोही दिन खड्गयात्रा पनि हुने जनाइएको छ।
त्यसपछि कात्तिक ५ गते बिहीबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूर्णिमा परेको छ।
समितिले सामान्यतया देवीको प्रसादका रूपमा टीका लगाउन साइतको आवश्यकता नपर्ने पनि स्पष्ट पारेको छ।
बडादसैं २०८३ का प्रमुख साइत
- असोज २५ — घटस्थापना, बिहान ११:४७ बजे
- असोज २६ — खण्डा फेर्ने, बिहान १०:०७ बजे
- असोज २९ — श्री पचलीभैरव यात्रा
- असोज ३१ — फूलपाती तथा श्री तुलजाभवानी यात्रा, बिहान ९:३० बजे
- कात्तिक १ — महाअष्टमी तथा कालरात्रि
- कात्तिक ३ — महानवमी
- कात्तिक ४ — विजयादशमी, देवी विसर्जन बिहान ६:४७ बजे
- कात्तिक ४ — टीका लगाउने साइत बिहान १०:२६ बजे
- कात्तिक ५ — कोजाग्रत पूर्णिमा
स्रोत : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
