काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ स्थित कालाग्निरुद्रपीठ लड्केश्वर धाममा चितवनबाट दुई सहयात्री घोडा ‘साईगर’ र ‘भोला’ आजदेखि आउने भएका छन्।
धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको कालाग्निरुद्रपीठ लड्केश्वर धाममा श्रद्धालु तथा आगन्तुकका लागि थप आकर्षण सिर्जना गर्ने उद्देश्यले दुई घोडा ल्याउन लागिएको हो।
कालाग्निरुद्रपीठका पीठाधीश श्रद्धेय गुरु मुकुन्द शर्मा हुमागाईंका अनुसार ‘साइगर’ र ‘भोला’को आगमनले धाममा आउने श्रद्धालु तथा पर्यटकका लागि नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ। चितवनबाट यात्रा सुरु गरेका दुवै घोडा आजदेखि लड्केश्वर धाममा रहनेछन्।
कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा पछिल्लो समय विभिन्न धार्मिक गतिविधि, यज्ञ, अनुष्ठान तथा आध्यात्मिक कार्यक्रम हुँदै आएका छन्। राष्ट्रिय कोटिहोम २०८० समेत सम्पन्न भएको यस धाममा दुई घोडाको आगमनले धार्मिक वातावरणसँगै धामको प्राकृतिक तथा पर्यटकीय आकर्षण पनि बढाउने विश्वास गरिएको छ।
वैदिक तथा धार्मिक परम्परामा अश्व अर्थात् घोडालाई शक्ति, तेज, गति, विजय र ऐश्वर्यको प्रतीकका रूपमा लिइन्छ। वैदिक परम्परामा अश्वसँग जोडिएको अश्वमेध यज्ञले समेत घोडाको धार्मिक तथा राजकीय महत्त्वलाई दर्शाउँछ। यही प्रतीकात्मक मान्यताका आधारमा लड्केश्वर धाममा ‘साइगर’ र ‘भोला’को आगमनलाई सकारात्मक ऊर्जा, गतिशीलता र आकर्षणसँग जोडेर हेरिएको छ।
धार्मिक पर्यटनको सम्भावना बोकेको लड्केश्वर धाममा विभिन्न गतिविधि थपिँदै जाँदा श्रद्धालु तथा पर्यटकको चहलपहलसमेत बढ्ने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ असोज २२ बिहीवार ११:४० मा प्रकाशित

















