काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको पेशागत (विषय विज्ञ) समूहको मतगणनामा डा. केदार नरसिंह केसीले अग्रता कायम राखेका छन्। जारी मतगणनामा ३ हजार २१ मत गणना हुँदा डा. केसीले १ हजार ३८३ मत प्राप्त गरेका छन्।
उपलब्ध मतपरिणामअनुसार प्रा.डा. जगदीशचन्द्र पोखरेल १ हजार १३१ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै, डा. प्रदीप मिश्रले ७०२, वरिष्ठ अधिवक्ता सीताराम केसीले ६५१ र डा. नहकुल केसीले ५८० मत प्राप्त गरेका छन्।
यस समूहबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने भएकाले मतगणनाको परिणामलाई चासोका साथ हेरिएको छ। हालसम्मको मतपरिणाममा डा. केदार नरसिंह केसी पहिलो स्थानमा रहँदा प्रा.डा. जगदीशचन्द्र पोखरेल दोस्रो स्थानमा छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला केन्द्रीय सदस्यका विभिन्न समूहको मतपरिणामले महाधिवेशनको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
मतगणना जारी रहेकाले अन्तिम नतिजा सार्वजनिक हुँदासम्म उम्मेदवारहरूको मत र स्थान परिवर्तन हुन सक्नेछ। निर्वाचन समितिले सार्वजनिक गर्ने अन्तिम परिणामपछि मात्रै यस समूहबाट निर्वाचित हुने पाँच जना केन्द्रीय सदस्यको टुंगो लाग्नेछ।
वि.सं.२०८३ असोज २८ बुधवार ०८:२८ मा प्रकाशित















