काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाको पावन अवसरमा भारतको उत्तराखण्डस्थित गंगोत्री धामका रावल शिवप्रकाशजी महाराजको उपस्थितिमा काभ्रेपलाञ्चोकको बल्थलीस्थित कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा पवित्र गंगाजलद्वारा विधिपूर्वक भगवान् महादेवको जलाभिषेक गरिएको छ ।
नेपाल–भारतबीच परम्परादेखि स्थापित धार्मिक तथा आध्यात्मिक सम्बन्धलाई निरन्तरता दिँदै रावल शिवप्रकाशजी महाराजले श्री पशुपतिनाथको अभिषेकका लागि एक हजार एक सय लिटर पवित्र गंगाजल नेपाल ल्याउनुभएको हो। गंगोत्री धामको रावल पदमा गद्दी आरोहण गरेपछि उहाँले यस धार्मिक परम्परालाई २६औँ पटक निरन्तरता दिनुभएको जनाइएको छ।
विगत छ वर्षदेखि पशुपतिनाथसँगै डोलेश्वर महादेव र लड्केश्वर महादेवमा पनि गंगोत्री धामबाट ल्याइएको पवित्र गंगाजलद्वारा जलाभिषेक गर्ने परम्परा सुरु भएको छ।

यस वर्षको जलाभिषेक कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ तथा आनन्द अग्रवालको सपत्नीक सहभागिता रहेको थियो। लड्केश्वर महादेवमा जलाभिषेकपश्चात् सहभागीहरूले ख्याकुस्थित लक्ष्मी पञ्चायनको दर्शन गर्नुका साथै खोपासीस्थित नरसिंह मठमा प्रस्तर मूर्तिसमेत हस्तान्तरण गरेका थिए।

सोही दिन काठमाडौंस्थित त्रिवेणी शक्तिपीठ, शंखमूल दोभानमा समेत गंगोत्री धामका रावल शिवप्रकाशजी महाराजको आगमन भएको थियो।

गंगोत्री धामका रावलको नेपाल आगमन तथा विभिन्न धार्मिक स्थलमा गरिएको दर्शन र जलाभिषेकले नेपाल–भारतबीचको ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, पुरुषोत्तम मासदेखि गंगोत्री जलाभिषेक कार्यक्रमसम्म सुरक्षा प्रदान गर्दै आउनुभएका खोपासी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खत्रीलाई समेत सोही अवसरमा बिदाइ गरिएको थियो। कालाग्नि रुद्रपीठ लड्केश्वर धामका तर्फबाट गंगोत्री धाम र पशुपतिनाथबीचको धार्मिक सम्बन्धलाई निरन्तरता दिन योगदान पुर्याउनुभएका रावल शिवप्रकाशजी महाराजप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ।
धामले कार्यक्रममा सहभागी सम्पूर्ण भक्तजनप्रति आभार व्यक्त गर्दै सबैमा गंगा माताको कृपा रहोस् भन्ने कामनासहित लड्केश्वर धाममा उपस्थित भई पवित्र गंगाजल ग्रहण गर्न श्रद्धालु भक्तजनलाई निमन्त्रणा गर्नु भएको छ।
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १४:३९ मा प्रकाशित













