काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।मौसमविद्का अनुसार आज कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता आवश्यक छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ।
मौसम प्रतिकूल रहने सम्भावनालाई ध्यानमा राख्दै विभागले बाढी, पहिरो तथा हिमपातको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
चक्रवात कमजोर भइसके पनि यसको प्रभावले वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको छ। शनिबारदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै वर्षा प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १०:४३ मा प्रकाशित

















