back
Close [x]

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु, शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्न प्रधानमन्त्रीको आह्वान

वि.सं.२०८३ मंसिर ९ बुधवार

1.5K 

shares

काठमाडौँ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ। अभियानको प्रारम्भका अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री शाहले शुभकामना सन्देश जारी गर्दै लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै डिजिटल माध्यमबाट हुने हिंसा पनि पछिल्लो समय थप चुनौतीका रूपमा देखिएको बताउनुभएको छ।

संविधानले सुनिश्चित गरेको समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा सहज पहुँच र दोषीलाई कानुनी कारबाही आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ।

उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको पनि उल्लेख गर्नुभएको छ। यसका लागि तीनै तहका सरकारबीच समन्वय, कानुनको प्रभावकारी कार्यान्वयन र संस्थागत जवाफदेहिता आवश्यक रहेको उहाँले बताउनुभएको छ।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले पनि लैङ्गिक हिंसा न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्दै त्यसलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले हिंसापीडितको उद्धार, सुरक्षित आवास, कानुनी सहायता, मनोसामाजिक परामर्श र पुनःस्थापनाका सेवाहरू प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वभर सञ्चालन हुने यो अभियान यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित सञ्चालन हुँदैछ।

नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सञ्चालन भइरहेको छ।

अभियानलाई केवल १६ दिनका कार्यक्रम र नारामा सीमित नराखी वर्षभरि महिला सुरक्षा, सम्मान, समानता र न्याय सुनिश्चित गर्ने व्यवहारिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

वि.सं.२०८३ मंसिर ९ बुधवार १६:३४ मा प्रकाशित

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

काठमाडौं । मानिसको स्वभाव, आर्थिक अवस्था र सामाजिक हैसियत हेरेर...

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले...

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

रसुवा । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको...