रसुवा । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीस्थित ऐतिहासिक उत्तरगया धामको संरक्षण तथा पुनःस्थापनाका गर्ने धर्मगुरुहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। उत्तरगया गाउँपालिका–५ मा अवस्थित यस धार्मिक स्थलको पुनःनिर्माण र संरक्षणमा सहयोग गर्ने उद्देश्यले धर्मगुरु तथा धार्मिक क्षेत्रका प्रतिनिधिहरूले कार्तिक १० गते मंगलबार धामको भ्रमण गरेका हुन्।

काठमाडौंको एतिहासिक तिर्थ शंखमूल त्रिवेणी धामबाट कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा पुगेको टोलीमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका नायब बडागुरु प्रा .डा माधवप्रसाद भट्टराई, समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतम, निवर्तमान कार्यकारी निर्देशक पं. आचार्य लक्ष्मण पन्थी, विदुषी डा. कान्ता भट्टराई, विश्व हिन्दु महासंघका सभापति अरुणकुमार पाण्डे, नेपाली हिन्दु समाज अस्ट्रेलिया बाट पं. प्रकाश ढोडारी लगाएत सामाजिक अभियान्ता,युवा,व्यावसायी सहभागी थिए।
भ्रमणका क्रममा टोलीले बाढीबाट प्रभावित उत्तरगया धामको अवस्थाबारे जानकारी लिँदै यस क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई जोगाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको हो।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले धामको पुनःस्थापना र संरक्षणमा चासो देखाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गर्ने धर्मगुरु तथा धार्मिक क्षेत्रका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। उनले उत्तरगया धामको महत्त्वलाई दृष्टिगत गर्दै यसको संरक्षण र पुनःस्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
उत्तरगया धाम हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पितृतीर्थका रूपमा परिचित छ। यहाँ वर्षेनी हजारौँ श्रद्धालु आफ्ना दिवंगत पितृ तथा परिवारका सदस्यहरूको सम्झनामा श्राद्ध, तर्पण र दान गर्न पुग्ने गर्छन्। विशेषगरी पितृहरूको उद्धार र मोक्षको कामनासहित गरिने धार्मिक कर्मका कारण यस क्षेत्रले देशका विभिन्न भागबाट आउने भक्तजनलाई आकर्षित गर्दै आएको छ।
धार्मिक मान्यताअनुसार उत्तरगयास्थित तप्तनदी क्षेत्रमा विधिपूर्वक श्राद्ध तथा तर्पण गर्दा पितृहरूले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ। यही आस्थाका कारण उत्तरगया धाम नेपाली हिन्दु समाजको धार्मिक परम्परा, पितृश्रद्धा र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ।
धार्मिक तथा पर्यटकीय स्थल उत्तरगया धाम भदौ १० गते नेपाल–चीन सिमानाको लेन्दे खोला हुँदै भोटेगण्डकीमा आएको विनाशकारी बाढीका कारण खण्डहरमा परिणत भएको छ।यश क्षेत्रको भौतिक संरचनामा क्षति पुर्याएपछि धामको संरक्षण र पुनःस्थापनाको आवश्यकता थप महत्त्वपूर्ण बनेको छ। यस्तो अवस्थामा धर्मगुरु, स्थानीय सरकार, धार्मिक संस्था तथा सरोकारवालाबीच सहकार्य हुन सके ऐतिहासिक सम्पदाको संरक्षणसँगै धार्मिक गतिविधिलाई समेत पुनः नियमित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उत्तरगया धामको पुनःस्थापनाले केवल भौतिक संरचनाको पुनर्निर्माण मात्र नभई पुस्तौँदेखि चल्दै आएको पितृकर्मको परम्परा, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको निरन्तरतामा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
वि.सं.२०८३ कात्तिक ११ बुधवार १९:४५ मा प्रकाशित

















