काठमाडौं । दोस्रो शङ्खमूल श्रावणी महोत्सवको पावन अवसरमा आज शनिबार आयोजित बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
महोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ३० जना रक्तदाताले रगत दान गरेका छन् भने कुल ३० पोका (पिन्ट) रगत संकलन भएको छ।
२०८० सालमा पनि शंखमूल श्रावणी महाेत्सवमा कार्यक्रममा पनि रक्तदानकाे कार्यक्रम भएकाे थियाे ।

सामाजिक उत्तरदायित्व र जीवन रक्षाको भावनालाई उच्च राख्दै आयोजना गरिएको यस कार्यक्रमले बिरामीहरूका लागि रगतको अभाव कम गर्न महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा कार ट्रान्समिसन, कार फाउन्डेसन, सिरजना विकास दिदीबहिनी समूह, दोभान विकास समिति तथा नेपाल रेडक्रस सोसाइटी लगायतका संघ-संस्थाहरूको सहभागिता र सहयोग रहेको थियो।
संकलित रगत बिरामीहरूको उपचारका लागि नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ। कार्यक्रमलाई सफल बनाउन रक्तदान गर्नुहुने ३० जना आदरणीय रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
वि.सं.२०८३ भदौ ६ शनिवार १३:१९ मा प्रकाशित











