काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका स्थित ऐतिहासिक तथा प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरको मूर्तिमा हिजो साँझ नित्य आरतीका क्रममा पसिना आएको देखिएको छ। साँझको आरती भइरहेका बेला भगवतीको कालो पत्थरको मूर्तिमा स्पष्ट रूपमा पसिनाका थोपाहरू देखा परेको स्थानीय पुजारी तथा मन्दिर व्यवस्थापन पक्षले जनाएका छन्।
धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई देश वा समाजमा हुन सक्ने कुनै अनिष्ट वा सङ्कटको सङ्केतका रूपमा लिइने गरिन्छ। यसअघि पनि विभिन्न राष्ट्रिय सङ्कट वा ठूला घटनाक्रम अघि भगवतीको मूर्तिमा पसिना आएको जनविश्वास रहँदै आएको छ।
मूर्तिमा पसिना देखिएपछि सम्भावित अनिष्ट टार्न र भगवतीलाई शान्त गराउन मन्दिरमा तान्त्रिक विधि र विशेष पूजाआजाद्वारा क्षमा पूजा गर्ने तयारी तीव्र पारिएको छ। क्षमा पूजाका लागि आवश्यक हवन, बलि तथा मन्त्रोच्चारण सहितका धार्मिक अनुष्ठान सञ्चालन गर्न गुठियार, पुजारी तथा स्थानीय जनप्रतिनिधिहरू जुटिसकेका छन्। मूर्तिमा पसिना आएको खबर फैलिएसँगै मन्दिर परिसरमा स्थानीय भक्तजनहरूको उल्लेख्य उपस्थिति र चासो बढेको छ।
काभ्रेको पलाञ्चोक भगवतीको मुर्तिमा हिजो साँझ आरतिको समयमा पसिना आएको छ भने क्षमा पुजा गर्ने तयारी हुँदै ।
वि.सं.२०८३ भदौ ७ आइतवार ११:१४ मा प्रकाशित

















