काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं.११ स्थित कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा १०८ फिट अग्लो विशाल पाशुपतास्त्र त्रिशूल निर्माण गरिएको छ। यसलाई विश्वकै सबैभन्दा ठूलो र अग्लो त्रिशूलको रूपमा दाबी गरिएको छ।
- उक्त बहुआयामिक धार्मिक संरचना स्थानीय तथा देश-विदेशका भक्तजनहरूको प्रत्यक्ष सहयोग र योगदानमा निर्माण सम्पन्न भएको हो। भगवान् शिवको शक्तिशाली अस्त्र मानिने ‘पाशुपतास्त्र’ स्वरूपको यो विशाल त्रिशूलको स्थापनासँगै लड्केश्वर धाम क्षेत्रमा धार्मिक तथा आध्यात्मिक वातावरण थप प्रगाढ बनेको छ।
सनातन संस्कृति, धार्मिक आस्था र स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित यस त्रिशूलले पनौती र सिङ्गो काभ्रे जिल्लालाई नै नयाँ धार्मिक पर्यटन गन्तव्यका रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। त्रिशूल निर्माण भएसँगै लड्केश्वर धाममा दर्शनार्थी तथा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।
वि.सं.२०८३ भदौ ७ आइतवार ११:२७ मा प्रकाशित

















