काठमाडौं, असोज १५ — सरकारले पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने नीति स्वीकार गरेको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले बताएकी छन्।
प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री वादीले व्यक्तिगत सहयोगी सेवा केवल दैनिक काममा सहयोग गर्ने विषय नभई अपाङ्गता भएका व्यक्तिले आफ्नो दैनिक जीवन सकेसम्म स्वतन्त्र रूपमा सञ्चालन गर्न पाउने अधिकारसँग जोडिएको विषय भएको बताइन्।
मन्त्रीका अनुसार सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा पठाइएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई आवश्यकता अनुसार व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने सरकारको तयारी छ। मन्त्रालयले स्थानीय तहमा अपाङ्गता लक्षित कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ समेत अघि बढाएको छ।
वि.सं.२०८३ असोज १५ बिहीवार १७:२६ मा प्रकाशित

















