काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंका विभिन्न स्थानबाट नेता, कार्यकर्ता, प्रतिनिधि तथा समर्थकहरू खुलामञ्चतर्फ पुग्ने क्रम बढेको छ।
महाधिवेशनको उद्घाटन कार्यक्रम आज दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा आयोजना हुँदैछ। कार्यक्रमका लागि कांग्रेसका प्रतिनिधि तथा शुभेच्छुकहरू विभिन्न स्थानबाट समूहगत रूपमा खुलामञ्चतर्फ अघि बढिरहेका छन्।
उद्घाटन समारोहमा सहभागी हुन राजधानीमा रहेका पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू खुलामञ्च क्षेत्रमा केन्द्रित हुन थालेपछि उक्त क्षेत्रमा राजनीतिक चहलपहलसमेत बढेको छ।
महाधिवेशनलाई कांग्रेसको आगामी राजनीतिक दिशा, नेतृत्व चयन तथा संगठनात्मक रणनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
वि.सं.२०८३ असोज १८ आइतवार १२:५६ मा प्रकाशित

















