हेटौँडा । मकवानपुरको मनहरीमा अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा युरिया मल प्रयोग भएपछि सात जना बिरामी भएका छन्।
मनहरी गाउँपालिका–८, सिमपानीमा शनिबार साँझ करिब ५ बजे अमिलो साँधेर खाने क्रममा चिनी ठानेर युरिया मल प्रयोग गरिएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार सुरुमा स्थानीय तीन बालिकाले चिनी ठानेर युरिया मल खाएका थिए। त्यसपछि अमिलो खाने क्रममा अन्यले समेत चिनी ठानी उक्त पदार्थ खाएका थिए।
बिरामी हुनेमा ११ वर्षीया आयुस्का थिङ, ११ वर्षीया आनुस्का थिङ, ९ वर्षीया मानवी घलान, ४२ वर्षीया सोममाया रुम्बा, ३२ वर्षीया दीपा थिङ, २२ वर्षीय दावा थिङ र ५ वर्षीया सैनिका बल रहेका छन्।
बिरामी सबैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको छ। प्रहरीका अनुसार उपचाररत सबैको अवस्था सामान्य रहेको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
वि.सं.२०८३ असोज १८ आइतवार १५:५४ मा प्रकाशित












