काठमाडौं । रसुवामा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा काठमाडौंको खुलामञ्चमा सामूहिक प्रार्थना कार्यक्रम आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिकाले गायिका तथा बौद्ध आध्यात्मिक साधक आनी छोइङ डोल्मासँगको सहकार्यमा भोलि दिउँसो ४ः३० बजे कार्यक्रम गर्न लागेको हो।
बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउने र विपद्का घटनाबाट प्रभावित समुदायप्रति सामूहिक संवेदना प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
खुलामञ्चमा आयोजना हुने सामूहिक प्रार्थनाले विपद्का कारण प्रियजन गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्नुका साथै दुःखको घडीमा समाजलाई एकताबद्ध बनाउने सन्देश दिने अपेक्षा गरिएको छ। कार्यक्रममा सामूहिक प्रार्थनामार्फत दिवङ्गत आत्माको शान्तिको कामना गरिनेछ।
प्राकृतिक विपद्का घटनाले मानवीय क्षतिसँगै परिवार र समुदायमा गहिरो पीडा निम्त्याउने गरेका छ। यस्तो अवस्थामा श्रद्धाञ्जली, सहानुभूति र सामूहिक ऐक्यबद्धताले शोकमा रहेका परिवारलाई भावनात्मक साथ प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
काठमाडौं महानगरपालिकाको सहकार्यमा हुन लागेको यो कार्यक्रम विपद्मा ज्यान गुमाएकाहरूको स्मरण र मानवीय संवेदना अभिव्यक्त गर्ने अवसरका रूपमा रहनेछ।
वि.सं.२०८३ असोज २७ मंगलवार १४:१३ मा प्रकाशित

















