काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालको यमपञ्चक अर्थात् तिहारअन्तर्गत मनाइने पर्वहरूको मिति तथा साइत सार्वजनिक गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको सूचनाअनुसार यस वर्ष तिहारका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन्।
विज्ञप्ति अनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धनतेरस) तथा यमदीपदान रहेको छ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
त्यसैगरी, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्रि रहेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ।
कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा नेपाल संवत् ११४७ को प्रारम्भ हुने समितिको सूचनामा उल्लेख छ।
तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। समितिले सार्वजनिक गरेको विवरणअनुसार यस दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
समितिले भाइटीकाका दिन टीका लगाउँदा दाजुभाइ पश्चिम मोहडा फर्कने र दिदीबहिनी पूर्व मोहडा फर्केर टीका लगाइदिनुपर्ने बताइएकाे छ।
समितिले सार्वजनिक गरेको यस विवरणले तिहारका विभिन्न पर्व तथा भाइटीकाको तयारी गर्न सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ कात्तिक १८ बुधवार १०:१० मा प्रकाशित

















