काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले केन्द्र स्थापनासम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।
संस्कृत वाङ्मयको विशिष्ट अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विश्वविद्यालयलाई स्थापित गर्ने र अनुसन्धान एवं नवप्रवर्तनका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानलाई सम्मान गर्दै उहाँको नाममा प्राज्ञिक अनुसन्धानका गतिविधिलाई थप विस्तार गर्ने लक्ष्यसमेत केन्द्र स्थापनाको उद्देश्य रहेको बताइएको छ।
केन्द्र स्थापनासँगै संस्कृत वाङ्मय, ज्ञान, दर्शन तथा अनुसन्धानका क्षेत्रमा नयाँ सम्भावना विकास हुने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ कात्तिक १८ बुधवार ०९:५९ मा प्रकाशित

















