सम्मपादकीय । महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदा समाजमा अनेकौँ नारा घन्किन्छन्, प्रतिबद्धता व्यक्त गरिन्छन् र महिला अधिकारका विषयमा बहस हुन्छन्। तर अभियान सकिएसँगै ती आवाज पनि कमजोर हुँदै जान्छन्। प्रश्न यही हो—के महिलाको सुरक्षा, सम्मान, समानता र न्याय १६ दिनका लागि मात्रै हो? बाँकी ३४९ दिन उनीहरूले भोग्ने हिंसा, विभेद र अन्यायप्रति राज्य र समाजको जिम्मेवारी समाप्त हुन्छ?
महिला हिंसा केवल शारीरिक आक्रमणमा सीमित छैन। मानसिक यातना, आर्थिक शोषण, सामाजिक विभेद, कार्यस्थलमा हुने दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा र डिजिटल माध्यमबाट हुने दुर्व्यवहार पनि यसका गम्भीर स्वरूप हुन्। अझ दुःखद पक्ष, कतिपय अवस्थामा पीडितले न्याय खोज्दा उल्टै सामाजिक दबाब, अपमान र दोषारोपण सहनुपर्छ। यस्तो प्रवृत्तिले अपराधीको मनोबल बढाउँछ र पीडितको आवाज कमजोर बनाउँछ।
अब महिला हिंसाविरुद्ध भाषणभन्दा परिणाम देखाउने समय आएको छ। राज्यले कानुनको प्रभावकारी कार्यान्वयन, निष्पक्ष अनुसन्धान, शीघ्र न्याय र पीडितको सुरक्षा सुनिश्चित गर्नुपर्छ। स्थानीय तहदेखि केन्द्रसम्म महिला हिंसासम्बन्धी उजुरीको प्रभावकारी सुनुवाइ, सुरक्षित आश्रय, निःशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्शको व्यवस्था विस्तार गर्नुपर्छ। अपराधमा संलग्न व्यक्ति राजनीतिक पहुँच, सामाजिक प्रतिष्ठा वा आर्थिक शक्तिका आधारमा उन्मुक्ति पाउने अवस्था अन्त्य हुनुपर्छ।
समाधानको अर्को आधार सामाजिक सोच र व्यवहारमा परिवर्तन हो। विद्यालय तहदेखि नै लैङ्गिक समानता, आपसी सम्मान र अधिकारसम्बन्धी शिक्षा दिनुपर्छ। परिवारमा छोराछोरीबीच समान व्यवहार, महिलाको निर्णय क्षमताको सम्मान र आर्थिक आत्मनिर्भरतालाई प्रोत्साहन गर्नुपर्छ। हिंसा देखेर मौन बस्ने होइन, पीडितलाई साथ दिने र अन्यायविरुद्ध आवाज उठाउने संस्कार विकास गर्नुपर्छ।
त्यस्तै, महिला सुरक्षाका लागि राज्य, स्थानीय सरकार, नागरिक समाज, सञ्चारमाध्यम र समुदायबीच स्पष्ट कार्ययोजना र नियमित अनुगमन आवश्यक छ। प्रत्येक स्थानीय तहले महिला हिंसा न्यूनीकरणका कार्यक्रम, सुरक्षित उजुरी प्रणाली, सचेतना अभियान र पीडितको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्छ। अभियानका उपलब्धि नाराबाट होइन, हिंसाका घटनामा आएको कमी, न्यायमा पहुँच र महिलाले अनुभूति गरेको सुरक्षाबाट मापन गरिनुपर्छ।
महिला हिंसामुक्त समाज निर्माण कुनै एक दिवस, सप्ताह वा १६ दिने अभियानको जिम्मेवारी होइन। यो राज्यको संवैधानिक दायित्व, समाजको नैतिक जिम्मेवारी र प्रत्येक नागरिकको साझा कर्तव्य हो। १६ दिन आवाज उठाएर बाँकी ३४९ दिन मौन बस्ने प्रवृत्तिले परिवर्तन सम्भव छैन।
अभियानको सफलता कति कार्यक्रम भए भन्नेमा होइन, कति महिलाले न्याय पाए, कति हिंसा रोकिए र कति महिलाले सम्मानपूर्वक बाँच्न पाए भन्नेमा मापन हुनुपर्छ। महिला सुरक्षित भए मात्रै परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित भए मात्रै समाज सभ्य र राष्ट्र समृद्ध बन्छ। त्यसैले महिला सुरक्षाको प्रतिबद्धता १६ दिनमा होइन, वर्षका ३६५ दिन व्यवहारमा देखिनुपर्छ।
वि.सं.२०८३ मंसिर १० बिहीवार ०६:०० मा प्रकाशित

















