काठमाडौं । तिहार पर्व नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुनका असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ र २० गते दुई दिन विशेष बिक्री व्यवस्था मिलाएको हो।
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिनेछ। बिक्री भने उपलब्ध मौज्दात कायम रहेसम्म मात्र हुनेछ।
एक व्यक्तिले कति किन्न पाउँछन्?
राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको सुनको असर्फी एक थान खरिद गर्न पाउनेछन्। त्यसैगरी १० ग्राम तौलका लक्ष्मी र गणेशको आकृति अंकित चाँदीका मेडालियन एक–एक थानका दरले बढीमा दुई थान किन्न सकिनेछ।
सुनचाँदीका सिक्का खरिद गर्न चाहने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य आधिकारिक प्रमाणपत्रको प्रतिलिपि लिएर स्वयं उपस्थित हुनुपर्नेछ।
भुक्तानीका लागि नगद तथा क्यूआर दुवै माध्यम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
मूल्य भने बिक्रीकै दिन निर्धारण हुने
सुनको असर्फी र चाँदीका मेडालियनको मूल्य अग्रिम रूपमा निश्चित गरिएको छैन। राष्ट्र बैंकले दैनिक रूपमा बिहान करिब ११ बजेपछि मूल्य निर्धारण गर्ने र त्यसपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने जनाएको छ।
यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट सुन खरिद गरी असर्फी उत्पादन गरेको छ। सुनको अभावका कारण विगत दुई वर्षदेखि असर्फी उत्पादन प्रभावित भएको थियो।
तिहारमा विशेषगरी धनतेरस र लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सामग्री खरिद गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। यही अवसरलाई लक्षित गर्दै राष्ट्र बैंकले सीमित अवधिका लागि सुनचाँदीका सिक्का बिक्री गर्न लागेको हो।
तोकिएको दुई दिनमा सेवाग्राहीलाई पालोअनुसार मौज्दात रहेसम्म बिक्री गरिने भएकाले खरिदका लागि जाने व्यक्तिले आवश्यक परिचयपत्रको प्रत
वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०५ मा प्रकाशित

















