काठमाडौं । त्रिशूली करिडोरलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा सहयोग गर्न चिनियाँ सुरुङ विज्ञहरूको टोली नेपाल आइपुगेको छ।

सुरुङ निर्माण तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव भएका विज्ञहरूले प्रभावित क्षेत्रमा उद्धार, अवरुद्ध संरचना तथा सडक–मार्गको अवस्था अध्ययन गरी आवश्यक प्राविधिक सहयोग गर्ने बताइएको छ।
विपद्का कारण क्षतिग्रस्त संरचना पुनः सञ्चालन, जोखिमयुक्त स्थानको पहिचान तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विज्ञहरूको प्राविधिक सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
स्थानीय सुरक्षा निकाय तथा सम्बन्धित प्राविधिक टोलीसँग समन्वय गर्दै चिनियाँ विज्ञहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा आवश्यक प्राविधिक सुझाव दिने तयारी गरेका छन्।
बाढी, पहिरो तथा सडक अवरोधका कारण प्रभावित नागरिकको उद्धार र राहत वितरणलाई तीव्रता दिन नेपाल सरकार तथा सुरक्षा निकायहरू सक्रिय रहेका छन्। विदेशी प्राविधिक सहयोगले विपद् व्यवस्थापन तथा पुनःस्थापनाको काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ भदौ १३ शनिवार १७:१७ मा प्रकाशित

















