काठमाडौं । शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये दोस्रो स्वरूप देवी ब्रह्मचारिणीको पूजा–आराधना गरिँदैछ। धार्मिक मान्यता अनुसार देवी ब्रह्मचारिणी तपस्या, त्याग, संयम, धैर्य र दृढ सङ्कल्पकी प्रतीक हुन्।
नवरात्रको दोस्रो दिन भक्तजनले घरघरमा स्थापना गरिएको कलश तथा देवीको पूजा गरी दुर्गा सप्तशती पाठ, मन्त्रजप र आराधना गर्ने परम्परा छ। विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा पनि श्रद्धालुहरू दर्शन र पूजाका लागि पुग्ने गर्छन्।
धार्मिक मान्यताअनुसार देवी ब्रह्मचारिणीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। त्यसैले उहाँको स्वरूपलाई साधना, आत्मसंयम र लक्ष्यप्रतिको अटल निष्ठाको प्रतीकका रूपमा लिइन्छ। देवीको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको स्वरूपको पूजा गरिन्छ।
नवरात्रका नौ दिन देवी दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। यस अवसरमा भक्तजनले परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै देवीको आराधना गर्ने गर्छन्।
धार्मिक तथा सांस्कृतिक दृष्टिले नवरात्रले आस्था, अनुशासन, सकारात्मक सोच र आध्यात्मिक साधनाको सन्देश दिने विश्वास गरिन्छ।
वि.सं.२०८३ असोज २६ सोमवार ०७:४४ मा प्रकाशित

















