काठमाडौं । मध्य अमेरिकी देश पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ। अक्टोबर ९ मा गएको भूकम्प र त्यसपछि आएका परकम्पका कारण देशका विभिन्न क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको छ।
अक्टोबर १० मा सरकारले सङ्कटकाल घोषणा गर्दै प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने निर्णय गरेको हो। भूकम्पका कारण भवन, घर, विद्यालय, सडक तथा पुलमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु पनामाको हेरेरा प्रान्तस्थित पितालोसा अरिबा क्षेत्रनजिक थियो। भूकम्पको धक्का राजधानी पनामा सिटीसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो। शक्तिशाली धक्कापछि सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका थिए।
भूकम्पपछि सयौँ परकम्प गएको र क्षतिको विवरण सङ्कलन जारी रहेको अधिकारीहरूले जनाएका छन्। अक्टोबर ११ सम्म प्राप्त विवरणअनुसार कम्तीमा २७ जना घाइते भएका छन् भने सयौँ घरमा क्षति पुगेको छ। प्रारम्भिक विवरणमा भूकम्पका कारण मृत्यु भएको पुष्टि गरिएको थिएन।
सरकारले सङ्कटकालमार्फत प्रभावित क्षेत्रको पुनःनिर्माण तथा राहतका लागि थप स्रोत परिचालन गर्ने जनाएको छ। उद्धार टोली र सम्बन्धित निकायले क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गर्दै प्रभावित समुदायलाई सहयोग पुर्याउने काम गरिरहेका छन्।
भूकम्पपछि पनि परकम्प आउने क्रम जारी रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सरकारी निकायको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।
वि.सं.२०८३ असोज २६ सोमवार ०७:५७ मा प्रकाशित

















