काठमाडौं — राज्यका निकाय तथा सूचना प्रदायक माध्यमहरूले दिने जलविद्युत् तथा नदीसम्बन्धी सूचनामा गम्भीर त्रुटि देखिएको भन्दै कालाग्नि रुद्रपीठ लड्केश्वर धामका पिठाधीश एवं ॐकार टेलिभिजन,ॐकार फाउन्डेसनका संस्थापक श्री मुकुन्द शर्मा हुमागाईंले गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।
उहाँले मोबाइलमा फोन गर्दा बज्ने ‘रिङ्टोन’ (सूचना) मा भोटेकोशीमा बाढी आएको भनी दिइएको सूचना गलत रहेको र सो क्षेत्र भोटेगण्डकी भएको उहाँको भनाइ छ। सरकार, मातहतका निकाय र सर्वसाधारण सबैले उक्त नदीलाई ‘भोटेगण्डकी’ भनिरहेको अवस्थामा सरकारी वा आधिकारिक सूचनामै गलत नदीको नाम प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण भएको हुमागाईंले बताउनुभयो।
नेपालका प्रमुख नदी प्रणाली र तिनका सहायक नदीहरूबारे सूचना दिने निकाय नै अनविज्ञ रहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नु भएको छ। नेपालका पौराणिक तथा भौगोलिक नदी प्रणालीहरू— सप्तकोशी, सप्तगण्डकी, सप्तकर्णाली, सप्तमती र सप्तमहाकाली—का शाखा-प्रशाखाहरूबारे स्पष्ट नभई राज्यले गलत सूचना प्रवाह गर्न नमिल्ने उहाँको तर्क छ।
उहाँले नेपालको प्रमुख नदी प्रणाली र तिनका सहायक नदीहरूको संक्षिप्त विवरण यसरी प्रस्तुत गर्नुभएको छ:
- सप्तकोशी: इन्द्रावती, सुनकोशी, तामाकोशी, लिखु, दुधकोशी, अरुण, तमोर।
- सप्तगण्डकी: कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी, त्रिशूली।
- सप्तकर्णाली: हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगंगा, सेती।
- सप्तमती: (बागमतीका सहायक नदीहरू) मनोहरा, हनुमन्ते, विष्णुमती, इच्छुमती (टुकुचा), रुद्रमती (धोवीखोला), नख्खु, कोड्कु।
- सप्तमहाकाली: (नेपाल-भारत सीमा क्षेत्रका) महाकाली नदी र यसका प्रमुख सहायक नदीहरू।
यस्तो महत्वपूर्ण र भौगोलिक रूपमा संवेदनशील विषयमा राज्यका निकायहरू वा आधिकारिक सूचना प्रदायकहरूले गलत जानकारी दिनु गम्भीर लापरवाही भएको पिठाधीश हुमागाईंले बताउनुभएको छ। यो गलत सूचनाले सर्वसाधारणमा अन्योल सिर्जना गर्नुका साथै गलत भौगोलिक धारणा स्थापित गर्नसक्ने जोखिम रहेको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले यस्ता त्रुटिहरूले सूचना प्रवाहको विश्वसनीयतामा नै प्रश्न उठाउने बताउँदै, सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्नेमा जोड दिनुभएको छ। राज्यले दिने सूचना सधैँ तथ्यपरक र सही हुनुपर्ने भन्दै, यस्तो लापरवाही स्वीकार्य नहुने र यसलाई तुरुन्त सच्याउन उहाँले माग गर्नुभएको छ।
वि.सं.२०८३ भदौ १३ शनिवार १४:१८ मा प्रकाशित

















