काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले रसुवामा आएको विनाशकारी बाढी तथा जलप्रलयमा परी ज्यान गुमाएका दिवंगत आत्माहरूको शान्तिको कामना गर्दै देशभरका धार्मिक तथा सामाजिक संघ–संस्थालाई दीप प्रज्वलन गर्न आह्वान गरेको छ।
महासंघले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल भदौ २२ गते, जलप्रलयको तेह्रौँ दिन दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्न तथा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न अनुरोध गरिएको हो।
महासंघले नेपाल तथा विश्वभर रहेका मठ, मन्दिर, गुम्बा, धाम, चैत्य, गुरुद्वारा तथा अन्य धार्मिक–सामाजिक संघ–संस्थाहरूलाई दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कामहरू सञ्चालन हुँदै आएका छन्।
यस दुःखद् घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति विभिन्न धार्मिक तथा सामाजिक संस्थाले श्रद्धाञ्जली व्यक्त गर्दै आएका छन्। पछिल्ला दिनमा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा विभिन्न स्थानमा सामूहिक प्रार्थना तथा दीप प्रज्वलनसमेत गरिएको छ।
विश्व हिन्दू महासंघले विपद्मा ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइते एवं प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
महासंघको आह्वानमा दीप प्रज्वलन गर्दै दिवंगत आत्माहरूको शान्ति तथा प्रभावित परिवारको धैर्य र मनोबलका लागि प्रार्थना गर्न आग्रह गरिएको छ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १८:१२ मा प्रकाशित

















