काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा आठ जना घाइते भएका छन्। बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धारपछि घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटामा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि सबैलाई धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बेथानचोक गाउँपालिका–१ का रोमबहादुर योञ्जन, मिना माया तामाङ, दुर्गाबहादुर योञ्जन, धनबहादुर योञ्जन, प्रेम योञ्जन, दिनेश योञ्जन, अनिल योञ्जन र टेकबहादुर थिङ घाइते भएका छन्।
जिप चालक बेथानचोक गाउँपालिका–३ निवासी अन्दाजी २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको बताइएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
वि.सं.२०८३ असोज १४ बुधवार १३:१७ मा प्रकाशित

















