काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका मन्त्री वाग्लेलाई नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरनसहितका अधिकारीहरूले स्वागत गरेका थिए।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा भएको भ्रमणका क्रममा मन्त्री वाग्लेले अमेरिकी सरकार, विश्व बैंक तथा अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। निजी क्षेत्रका लगानीकर्तासँग पनि छलफल गर्ने तयारी रहेको छ।
भ्रमणको मुख्य प्राथमिकतामध्ये नेपालमा हालै आएको भोटेगण्डकी क्षेत्रको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग जुटाउनु रहेको छ। क्षतिग्रस्त भौतिक तथा आर्थिक संरचनालाई दीर्घकालीन रूपमा थप उत्थानशील बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।
यसैगरी नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, वित्तीय कारबाही कार्यदल (FATF) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा समग्र आर्थिक सुधारका विषय भेटवार्ताको एजेन्डामा रहनेछन्।
मन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग समेत भेटवार्ता गर्ने तय भएको छ। भेटका क्रममा नेपालले खोजिरहेको आर्थिक तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।
नेपालका सडक, विद्युत् प्रसारण लाइनलगायत ठूला पूर्वाधारमा विकास साझेदार र निजी क्षेत्रको लगानी बढाउने सम्भावनाबारे पनि भ्रमणका क्रममा छलफल हुनेछ। यस्तो लगानीमार्फत रोजगारी तथा आर्थिक गतिविधि विस्तार गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ।
अर्थमन्त्रीको यो भ्रमण दुई दिने रहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले भ्रमणसम्बन्धी औपचारिक प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरेको छ।
वि.सं.२०८३ असोज १८ आइतवार १३:१९ मा प्रकाशित

















