सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट प्रक्रिया सुरु भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबारदेखि विभिन्न जिल्लामा छनोट प्रतियोगिता सञ्चालन गरेको हो।
सुर्खेतमा सोमबार सामाजिक विकासमन्त्री तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जीतबहादुर मल्लले छनोट प्रतियोगिताको उद्घाटन गरेका हुन्।
आयोजित उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री एवं परिषद्का अध्यक्ष जीतबहादुर मल्लले राष्ट्रिय प्रतियोगितामा प्रदेशको पदक सम्भावना बढाउन खेलाडीको तयारी र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताए।
परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार ब्याडमिन्टन, कराते, तेक्वान्दो, फुटबल, क्रिकेट, एथलेटिक्स, कबड्डी, भलिबललगायत खेलका छनोट विभिन्न जिल्लामा सञ्चालन हुनेछन्। केही खेलको मिति र स्थान भने पछि सार्वजनिक गरिनेछ।
छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन परिषद्ले प्रदेशका १० जिल्लालाई पाँच समूहमा विभाजन गरी प्रतियोगिता व्यवस्थापन तथा छनोट समिति गठन गरेको छ। समितिमा सम्बन्धित खेलका प्रतिनिधि, प्रशिक्षक र खेल विज्ञलाई समेटिएको परिषद्ले जनाएको छ।
प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय प्रतियोगितामा कर्णालीको प्रदर्शन सुधार्ने लक्ष्य परिषद्ले लिएको छ।
विभिन्न जिल्लामा खेलाडी छनोट प्रतियोगिता
परिषद्ले सार्वजनिक गरेको तालिकाअनुसार ब्याडमिन्टनको छनोट असोज २६ देखि २८ गतेसम्म सुर्खेतमा हुनेछ। सोही अवधिमा दैलेखमा कराते र जुम्लामा तेक्वान्दोको छनोट प्रतियोगिता सञ्चालन गरिनेछ। टेबलटेनिसको छनोट असोज २६ र २७ गते सल्यानमा आयोजना हुनेछ।
पुरुष कबड्डीको छनोट असोज २६ देखि २८ गतेसम्म मुगुमा र महिला कबड्डीको असोज २९ देखि ३१ गतेसम्म रुकुम पश्चिममा हुनेछ। फुटबलको छनोट असोज २६ देखि ३१ गतेसम्म सुर्खेतमा सञ्चालन गरिनेछ। बक्सिङको छनोट पनि असोज २६ देखि २८ गतेसम्म सुर्खेतमै हुनेछ।
त्यस्तै, एथलेटिक्सको छनोट असोज २७ देखि २९ गतेसम्म सुर्खेतमा, ह्यान्डबलको असोज २७ र २८ गते दैलेखमा तथा क्रिकेटको असोज २८ देखि ३१ गतेसम्म सुर्खेतमा हुनेछ। आईटीएफ तेक्वान्दोको छनोट असोज २८ देखि ३० गतेसम्म सुर्खेतमा सञ्चालन गर्ने तालिका रहेको सदस्यसचिव चन्दले जानकारी दिए।
अन्य खेलतर्फ पुरुष भलिबलको छनोट असोज २८ देखि ३१ गतेसम्म कालिकोटमा र महिला भलिबलको सोही अवधिमा हुम्लामा हुनेछ। चेसको छनोट असोज २८ देखि ३० गतेसम्म डोल्पामा, फुल कन्ट्याक्ट करातेको असोज २८ र २९ गते दैलेखमा तथा उसुको छनोट असोज २९ देखि ३१ गतेसम्म सुर्खेतमा सञ्चालन गरिनेछ।
यसैगरी, हक्कीको छनोट असोज २९ र ३० गते हुम्लामा तथा खोखोको छनोट असोज ३० र ३१ गते जाजरकोटमा आयोजना हुनेछ।
परिषद्का अनुसार टेनिस, सुटिङ, जिम्न्यास्टिक, स्क्वास, बास्केटबल, पौडी, रग्बी, कुस्ती, जुडो, सेपाकताक्रो, साइक्लिङ, भारोत्तोलन, ई–स्पोर्ट्स, आर्चरी र शारीरिक सुगठनलगायत खेलको छनोट मिति तथा स्थान पछि सार्वजनिक गरिनेछ।
वि.सं.२०८३ असोज २८ बुधवार ०७:५९ मा प्रकाशित

















